“रोनाल्डो बेकह्याम जस्ता थिएनन्, ड्रेसिङ रुममा रोनाल्डो धेरै इगो भएको खेलाडी थिए”

येही वर्ष फुटबलबाट सन्यास लिएका पूर्व म्यानचेष्टर युनाइटेडका स्टार फरवार्ड डिएगो फोर्लानले आफ्नो पुर्व टिममेट क्रिष्टियानो रोनाल्डोको बारे केहि कुरा खुलाएका छन् उनले रोनाल्डो संग बिताएको आफ्नो अनुभवबारे चर्चा गरेका छन् । फोर्लानका अनुसार रोनाल्डो अहंकारी थिए साथै उनी डेभिड बेकह्याम भन्दा एक स्थान तल पनि थिए ।

ओल्ड ट्राफोर्डमा तीन सिजन बिताएका यी उरुग्वे लिजेण्डले रोनाल्डोसँगै पनि प्रिमियर लिगमा खेलेका थिए । यद्यपि उनी पाँच पटकका बेल डिअर विजेता रोनाल्डोको व्यवहारबाट प्रभावित थिएनन् ।

कुराकानीका क्रममा फोर्लानले भनेका छन्, “रोनाल्डो ड्रेसिङ रुममा अहंकारी थिए । उनी बेकह्याम जस्ता थिएनन् । रोनाल्डो सधै ऐना नजिक हुन्थे र उनी आफ्नो अधिकांश दिन ऐनामा हेरेर बिताउँथे ।”

फोर्लानको यो खुलासा र दावीका बावजुद रोनाल्डो म्यानचेष्टर युनाइटेडका लागि एक स्टार थिए भन्ने कुरामा कसैको दुई मत छैन । युनाइटेडका लागि २९२ म्याचमा ११८ गोल गरेका रोनाल्डोले लगातार तीन प्रिमियर लिग, एफए कप र सन् २००८ को च्याम्पियन्स लिग पनि जितेका थिए ।

उता ठिक विपरित फोर्लानको ओल्ड ट्राफोर्ड बसाई खासै प्रभावकारी बन्न सकेन । युनाइटेडका लागि ९८ म्याच खेलेका फोर्लानले केवल १७ गोल मात्र गरे । यद्यपि उनले युनाइटेडमा आफ्नो अन्तिम सिजन बिताउने क्रममा प्रिमियर लिगको उपाधि भने जितेका थिए ।

इङल्याण्ड बसाई पश्चात् फोर्लान पनि स्पेन पुगेका थिए । जहाँ उनले केही शानदार र सफल सिजन पनि बिताए । सन् २०१० को फिफा विश्वकपमा उरुग्वेलाई चौथो स्थान दिलाएका फोर्लानले सन् २०११ को कोपा अमेरिका पनि जिताएका थिए ।