“रोनाल्डो बिना पनि हामी जित्न सक्छौ” भन्छन् रामोस – (नभन्दै खेल हारियो)

रियल मड्रिडका कप्तान सर्जियो रामोसले रोनाल्डो विना पनि मड्रिडले खेल जित्ने दावी गरेका छन्। यसअघि ९ वर्षसम्म क्रिस्टियानो रोनाल्डो रियल मड्रिडका महत्वपूर्ण सदस्य थिए।
उनी यसै सिजन मड्रिड छाड्दै इटालियन क्लव युभेन्ट्स आवद्ध भएका छन्। रोनाल्डो मड्रिडको प्रत्येक उपाधिको महत्वपूर्ण हिस्सा थिए।

पाँच पटकका बालुन डि’ ओर अवार्ड विजेता रोनाल्डोले मड्रिडमा रहँदा ४ च्याम्पियन्स लिग लगायत अन्य महत्वपूर्ण उपाधि हात पारेका थिए। उनी मड्रिडका सर्वाधिक गोलकर्ता समेत हुन् । ९ वर्षे करियरमा उनले मड्रिडबाट मात्रै ४ सय ५० गोल गरेका थिए।

गोल मसिनको रुपमा परिचित रोनाल्डोको बहिर्गमनसँगै रियल मड्रिडले खेलहरुमा सन्तोषजनक प्रदर्शन नगर्ने अनुमान सुरु गरिएका बेला कप्तान रामोसले एथ्लेटिको मड्रिडविरुद्ध बुधबार राति हुने खेलको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘रोनाल्डो हुनु नहुनुले मड्रिडलाई कुनै फरक पर्दैन।’

‘फुटबल टिम वर्क हो, हामी जितका लागि खेल्छौँ’ उनले भने, ‘यद्यपी, रोनाल्डोजस्तो उत्कृष्ट खेलाडी मड्रिडले गुमाउन चाहिँ दुर्भाग्य हो।’ तर इतिहासदेखिनै रियल मड्रिड उत्कृष्ट क्लब भएकाले रोनाल्डोको अनुपस्थितिमा पनि अब मड्रिडले पहिलेकै लक्ष्य तथा प्रदर्शनलाई निरन्तरता दिने दावी गरे।