रोनाल्डो बिनाको रियाल मड्रिडको सान्दार जित

ला लिगामा रियाल मड्रिडले जितको यात्रालाई कायमै राखेको छ । लगातार दुई खेलमा जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको रियालले जिरोनालाई चार एकको भारी अन्तरले हरायो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा होम टिमले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १६ औं मिनेटमा बोर्जा गार्सियाको गोल मार्फत जिरोनाले अग्रता बनाएको थियो । तर त्यसपछि रियालले चार गोल गर्न सफल भयो ।

रियलका लागि ३९ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत गोल गरे । त्यसपछि ५२ औं मिनेटमा करिम बेन्जिमाले रियालको अग्रता दोब्बर पारे । उनले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए । ५९ औं मिनेटमा ग्यारेथ बेलले इस्कोको पासमा गोल गर्दै रियाललाई तीन एकको अवस्थामा पुर्याए ।

एकपछि अर्को गोल गरेको रियालका लागि ८० औ मिनेटमा पुन बेन्जिमाले गोल गर्दै चार एकको प्रभावसाली जित दिलाए । जितपछि रियालले दुई खेलबाट ६ अंक बनाएको छ ।