रोनाल्डो बने सबैभन्दा बढी गोल गर्ने वर्तमान खेलाडी

क्रिस्टियानो रोनाल्डो आइतबार युभेन्ट्सका लागि लिगको चौथो खेलमा गोलको खाता खोलेका छन् । सुरुआती तीन खेलमा आक्रामक रुपमा निकै चनाखो देखिएपनि उनले गोल गर्न भने सकेका थिएनन् ।

लिगको सुरुआती खेलमा गोल गर्न नसक्दा रियल म्याड्रिड छाडेर युभेन्ट्स जाने उनको निर्णय पनि आलोचित रहँदै आएको थियो । तर आइतबार एकै खेलमा दुई गोल गर्दै उनले आलोचकहरुको मुखमा केहि हदसम्म बुझो लगाएका छन् ।

युभेन्ट्सले पनि १ सय मिलियन युरो खर्चेका खेलाडीबाट आउने खेलमा सोहि अनुसार प्रदर्शन पाउनेमा ढुक्क छ । रोनाल्डोलाई गोलको खाता खोल्न चार खेल कुर्नुपरे पनि उनले अब आउने खेलमा लयलाई निरन्तरता दिनेमा युभेका समर्थक पनि विश्वस्त छन् ।

३३ वर्षको उमेरमा पनि रोनाल्डो एक युवा खेलाडी जत्तिकै प्रभावशाली देखिंदै आएका छन् । आइतबार युभेन्ट्सलाई लगातार चौथो जित दिलाउँदा उनले २ गोल गरे । हाल उनको क्लब र देशका लागि कुल गोल संख्या ६ सय ६० पुगेको छ । वर्तमान खेलिरहेका खेलाडीमा मेसी ६ सय २१ गोल सहित दोस्रो स्थानमा छन् । त्यसपछि सुचिमा रहेका ज्लाटन इब्राहिमोभिचले ५ सय गोल पुरा गरेका छन् ।