‘रोनाल्डो जस्तो मानसिक रुपमा बलियो अरु खेलाडी छैन’ – युभेन्ट्सका प्रशिक्षक

युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो मानसिक रुपमा निकै बलिया रहेको प्रतिक्रिया दिएका छन् । आइतबार इटालियन लिगमा फ्रोसिनोनेलाई २-० ले पराजित गरेपछि एलेग्रीले यस्तो भनेका हुन् ।

गत साता च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध खेलको ३० मिनेटमा नै रेड कार्ड खाँदै बाहिरिएका रोनाल्डोले फ्रोसिनोनेविरुद्ध भने टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धाताम्क खेलको ८१ औं मिनेटमा उनले युभेका लागि गोलको खाता खोलेका थिए । भ्यालेन्सियाविरुद्ध डिफेन्डर मुरिलोलाई हात लगाएका कारण उनले कार्ड पाएका थिए । यद्यपि युभेका खेलाडीले भने रोनाल्डोको व्यवहार अभद्र नभएको र रेफ्रीले अनाहकमा कार्ड दिएको बताउँदै आएका छन् ।

च्याम्पियन्स लिगमा रेड कार्ड पाएपछि खेलेका रोनाल्डोले युभेन्ट्सको जितमा अहम भूमिका खेलेपछि एलेग्रिले खुसि हुँदै रोनाल्डोबारे प्रशंसा गरेका हुन् । ‘रोनाल्डोले गोल गर्ने धेरै अवसर पाए । अवसर त्यहि खेलाडीले पाउँछ जसले त्यहाँसम्म पुग्न मिहिनेत गरेका हुन्छन्,’ उनले भने , ‘उनले केहि अवसरको सदुपयोग गर्न सकेनन् । केहि अवस्थामा उनले रिबाउन्डको अवसर पनि सिर्जना गरिदिए । तर जसरी उनी खेलमा प्रस्तुत भए त्यो विशेष छ । छोटो समयमै उनले आफूलाई सम्हाले र आफ्नो शत प्रतिशत ध्यान खेलमा दिन सफल भए ।’

एलेग्रीले थपे, ‘ उनले जसरी खेलमा युभेलाई अग्रता दिलाए, त्यो कमै हुने गर्छ । मानसिक रुपमा उनी दबाबमा थिए तर खेल दौरान उनले त्यो देखाएनन । यसले पनि उनी मानसिक रुपमा बलिया छन् भन्ने पुष्टि हुन्छ ।’ रोनाल्डोले सिरी ‘ए’ को सुरुआती ३ खेलमा गोल गर्न नसकेपनि पछिल्लो दुई खेलमा भने ३ गोल गरिसकेका छन् । उनको गोलसँगै युभेले शत प्रतिशत यात्रा कायम गर्दै लिगको श्रीष स्थानमा ३ अंकको अग्रता लिएको छ ।