रोनाल्डोले सर्वाधिक गोलकर्ता हुने अवसर गुमाए

इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २-० गोलले पराजित गर्यो ।

काग्लीअरीलाई जित दिलाउनकाे लागि लुका गाग्लिआनो र जिओभानी सिमेओनले १-१ गोल गरे। लिगको ३७ औँ खेलमा काग्लीअरीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको थियो । युभेन्टस्को ८३ अंक छ।

दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ। युभेन्टसलाई पराजित गरेको काग्लीअरीको ४५ अंक पुगेको छ ।

याे हारसँगै ‘सिरी ए’ मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । ३५ वर्षीय रोनाल्डोले यो सिजन ३१ गोल गरेका छन् र उनी लाजियोका सिरो इम्बोली भन्दा चार गोलले पछाडि छन् ।

अब लिग चरणमा युभेन्टसको एक खेल मात्र बाँकी छ र त्यो एएस रोमाविरुद्ध रहेको छ ।