रोनाल्डोले रियलप्रति उस्तै लगाव राख्नुपर्ने थियो जस्तो मेसीले बार्सिलोनाप्रति राखेका छन् : भान डेर भार्ट

रियल मेड्रिडका पूर्व स्टार राफेल भान डेर भार्टको दावीअनुसार पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो चिरप्रतिद्वन्द्वी लियोनल मेसीको फलो गर्नुपर्ने बताएका छन् । साथै रोनाल्डो बर्नबेयु मै बस्ने पर्ने समेत बताएका छन् ।

स्मरणीय छ कि रियललाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताए पनि रोनाल्डोले गत महिना बर्नबेयु छोडेका थिए । त्यसपछि उनलाई इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सले १०५ मिलियन पाउण्डमा किनेको थियो ।

चर्चित फुटबल साईट गोलका अनुसार ३३ बर्षको उमेरमा रोनाल्डोको रियल मेड्रिड छोड्ने निर्णयले धेरै मानिसहरु अचम्ममा परेका थिए । त्यसमध्ये भान डेर भार्ट पनि एक थिए । भार्टलाई लाग्छ रोनाल्डोले पनि रियलप्रति उस्तै लगाव देखाउनुपर्ने थियो, जुन मेसीले बार्सिलोनाप्रति देखाएका छन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै यी ३५ बर्षिय पूर्व डच स्टारले भनेका छन्, “तपाईंलाई थाहा नै छ होला मेसीले बार्सिलोना कहिल्यै छोड्ने छैनन् । रोनाल्डोले रियल छोडेकोमा म निकै उदास छु । मेसी बार्सिलोना मै बसे जस्तै रोनाल्डो रियल मै बस्नुपर्ने थियो ।”

स्मरणीय छ कि सन् २००९ मा रियलले रोनाल्डोलाई म्यानचेष्टर युनाइटेडबाट त्यतिबेलाको विश्वकिर्तिमानी रकममा अनुबन्ध गर्दा भार्ट बर्नबेयु मै थिए । रोनाल्डोको आगमनले नै यी डच मिडफिल्डरले टोटेनेह्याम हट्सपरलाई रोज्नुपरेको बताईन्छ । यद्यपि भार्टलाई यो कुराले कुनै दुःख छैन ।