रोनाल्डोले युभेन्टसविरुद्ध हानेको ‘ओभरहेड’ गोल बन्यो ‘युइएफए गोल अफ् द सिजन’

रियल मड्रिडका पूर्वफरवार्ड क्रिटियानो रोनाल्डोको गोल युइएफए सिजन अफ् दि गोल घोषित भएको छ । युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले गत सिजन अन्तिम आठमा इटालियन युभेन्टसविरुद्ध रोनाल्डोले गरेको गोललाई सिजनकै उत्कृष्ट गोल घोषित गरेको हो । भोटिङबाट रोनाल्डोको गोल उत्कृष्ट गोलमा छानिएको हो ।

हालसालै इटालियन युभेन्टसमा अनुबन्ध भएका ३३ वर्षीय रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा युभेन्टसविरुद्ध पहिलो लेगमा गरेको ओभरहेड गोलले उत्कृष्ट गोलको अवार्ड जितेको हो । रियल मड्रिडले ३–० ले जितेको उक्त खेलमा रोनाल्डोले २ गोल गरेका थिए ।

उनको आकर्षक ओभरहेड गोलपछि युभेन्टसका घरेलु समर्थकले उठेर रोनाल्डोको गोलको सम्मानमा ताली बजाएका थिए । उनले खेलमा दोस्रो गोलका रूपमा उक्त गोल गरेका थिए । गत वर्ष रोनाल्डोकै प्रेरणादायी प्रदर्शनमा रियलले लगातार तेस्रोपटक तथा समग्रमा १३औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

गत सिजन रोनाल्डोले सर्वाधिक धेरै १५ गोल गरेका थिए । उनले लगातार ११ खेलसम्म गोल गर्ने खेलाडीको रेकर्ड पनि गत सिजन नै बनाएका थिए ।

रोनाल्डो रसिया विश्वकपपछि रियल छाडेर युभेन्टसमा अनुबन्ध भएका हुन् । ९ वर्ष रियलमा बिताएका रोनाल्डोलाई रियलले १ सय १२ मिलियन युरोमा बेचेको थियो ।

९ वर्ष रियलमा बिताउँदा रोनाल्डो रियलको इतिहासमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी बने । उनले कूल ४ सय ३८ खेलबाट ४ सय ५० गोल गरेका छन् । त्यसक्रममा उनले चार बालोन डि‘ओ रियलमा छँदै जितेका थिए ।