‘रोनाल्डोले गोल पानी पिए जस्तै सजिलै गर्छ’ – पोग्बा

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोका लागि गोल गर्नु पानी पिउनुजस्तै सजिलो रहेको बताएका छन् । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बुधबार युनाइटेड युभेन्ट्सको मैदानमा खेल्दै छ ।

३३ वर्षीय रोनाल्डोले यसै सिजन जोडिएको क्लब युभेन्ट्सका लागि १३ खेलमा ७ गोल र ६ असिस्ट प्रदान गरेका छन् । रोनाल्डोले गत सिजन लगातार तेस्रो च्याम्पियन्स लिग जित्ने क्रममा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि कायम गरेका थिए । यसपटक पनि उनी सोहि लयलाई निरन्तरता दिने सुरमा छन् । रोनाल्डो यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाँदै बाहिरीएपछि दोस्रो खेलमा प्रतिबन्धित भए । तेस्रो खेलमा उनले गोल गर्न भने सकेनन् ।

युभेविरुद्ध खेलको पूर्व सन्ध्यामा क्लबका पूर्व खेलाडी समेत रहेका पोग्बाले रोनाल्डोको प्रशंसा गरे । ‘युभेन्ट्सले रोनाल्डो भित्र्याएर निकै राम्रो निर्णय लिएको छ । रोनाल्डो टोलीमा हुनु भनेको टोलीले फाइदा पाउनु हो । उनी क्लबका निकै खुसी पनि छन् । रोनाल्डोका लागि गोल गर्नु भनको पानी पिउनुजस्तो नै भएको छ,’ पोग्बले भने ।