रोनाल्डोले गरे बालोन डि’ ओर जित्ने दाबी

क्रिस्टियानो रोनाल्डोले यसवर्ष आफूले बालोन डि‘ओर जित्ने दाबी गरेका छन् । सन् २०१८ का लागि यस अवार्डको मनोनयनमा परेका ३३ वर्षीय रोनाल्डोले यसपटक आफूले नै यो अवार्ड जित्ने दाबी गरेका हुन् ।

यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले यसपटक आफूलाई बालोन डि‘ओरका लागि सबैभन्दा बलियो दाबेदार ठानेका छन् । ‘फ्रान्स फुटबल’ पत्रिकासँग कुरा गर्दै रोनाल्डोले आफूले अवार्ड जित्नेमा विश्वास व्यक्त गरेका हुन् ।

‘अवश्य पनि, मेरो विचारमा फेरि पनि बालोन डि‘ओर म नै जित्छु, यो मेरो विश्वास हो,’ रोनाल्डोले भनेका छन् ।
रोनाल्डोले बालोन डि‘ओर अवार्ड समग्र प्रदर्शन हेरेर दिइने हुँदा आफू अगाडि रहेको बताए । ‘अन्य कुराको हिसाब मैले गरेको छैन । गत वर्ष मैले राम्रो गरेको छु,’ उनले भने, ‘विश्वकप पनि मेरा लागि राम्रै रह्यो ।’

रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताउन तथा क्लब विश्वपको उपाधि जिताउन निर्णायक भूमिका खेलेका थिए । रसिया विश्वकपमा समूह चरणमा स्पेनजस्तो बलियो टोलीविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका रोनाल्डोले कूल ४ गोल गरेका थिए । तर, उनको टोली अन्तिम १६ बाटै आउट भएको थियो ।