रोनाल्डोलाई स्पेनमा ‘लिजेन्ड अवार्ड’

क्रिस्टियानो रोनाल्डोको ट्रफी संकलन निरन्तर रूपमा चलिरहेको छ । पहिलो सिजन स्पोर्टिङ सीपीबाट अहिलेसम्म उनले धमाधम ट्रफी हात पार्दै आएका छन् । अघिल्लो वर्ष मात्र स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन च्याम्पियन्स क्लब युभेन्टस आएका उनले अब भने ‘लिजेण्ड अवार्ड’ पाउने भएका छन् ।

स्पेनिस मिडिया ‘मार्का’ ले रोनाल्डोलाई ‘लिजेन्ड अवार्ड’ बाट सम्मान गर्न लागेको हो । मार्काका अनुसार रोनाल्डोलाई सोमबार ‘मार्का लिजेन्ड अवार्ड’ बाट सम्मान गरिने भएको हो । स्पेनको राजधानी मड्रिडस्थित टेट्रो रैना भिक्टोरियामा एक कार्यक्रम आयोजना गरी रोनाल्डोलाई सो अवार्ड दिइने मार्काले जनाएको छ ।

इटालियन सिरी ‘ए’को उपाधि दिलाएको र व्यक्तिगततर्फ उच्च प्रदर्शन गरेको भन्दै मार्काले रोनाल्डोलाई सो अवार्ड दिने भएको हो । मार्काले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोलाई ‘मार्का लिजेन्ड अवार्ड’ दिने बताएको छ ।

रोनाल्डोले तीन देशबाट फरक–फरक तीन उपाधि जितेका छन् । रोनाल्डोले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छँदा प्रिमियर लिग जितेका थिए भने स्पेन छँदा ला लिगा जितेका थिए । यस्तै सन् २०१८ मा मात्र इटाली आएका उनले सिरी ‘ए’ पनि जितेका छन् ।