‘रोनाल्डोलाई रोक्न असम्भव’ – एथ्लेटिकोका प्रशिक्षक

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा पहिलो खेलमा इटालियन युभेन्टस र स्पेनिस एथ्लेटिको मड्रिड आज राति समूह चरणको पहिलो खेल खेल्दैछन् । यो खेल एथ्लेटिकोको घरेलु मैदानमा हुँदैछ ।

सो खेलअघि एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले युभेन्टसविरुद्ध त्यसमा पनि क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न कठिन हुने बताएका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रोनाल्डोविरुद्ध जति दिन लगाएर जति योजना बनाए पनि कठिन हुने बताए ।

‘क्रिस्टियानो यस्ता खेलाडी हुन्, जसलाई रोक्न जति नै तयारी गरे पनि कठिन हुन्छ । यसको साक्षी म छु,’ सिमोनीले भने, ‘उनीविरुद्ध मैले थुप्रैपटक टिम उतारेको छु । जब उनी लयमा हुन्छन्, उनलाई रोक्न कठिन मात्रै नभएर असम्भव हुन्छ,’ सिमोनीले भने ।

सिमोनीले रोनाल्डोविरुद्ध आफ्नो घरमा खेल्न उनकै लागि भनेर खास योजना नरहेको बताए । ‘गत सिजन उनले टुरिनमा के गरे, त्यो सबैलाई थाहा छ । यस्ता खेलाडीलाई रोक्न कुन योजनाले काम गर्छ, मलाई थाहा छैन,’ सिमोनीले भने, ‘हामी युभेन्टसविरुद्ध सामान्य तरिकाले खेल्नेछौं, जित्नु हाम्रो लक्ष्य हुनेछ ।’

सिमोनीले युभेन्टस रक्षात्मक खेल खेल्ने टिम त्यसमा पनि नयाँ प्रशिक्षक माउरिसियो सारी फरक शैलीका प्रशिक्षक भएकाले खेल कठिन हुने बताए । ‘मलाई थाहा छ, यो खेल सहज हुनेछैन । सारी जो फरक खेल शैलीका म्यानेजर हुन् । उनले यस खेललाई पक्कै पनि फरक बनाउनेछन्,’ सिमोनीले थपे ।