रोनाल्डोलाई मिस गर्दैछ रियल मेड्रिड

FILE PHOTO: Soccer Football - Serie A - Juventus v Lazio - Allianz Stadium, Turin, Italy - August 25, 2018 Juventus' Cristiano Ronaldo during the match REUTERS/Massimo Pinca/File Photo

रियल मेड्रिडको पहिलो रोजाईका गोलरक्षक केलोर नावासका अनुसार युरोपियन च्याम्पियन रियलले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई मिस गरिरहेको बताएका छन् । च्याम्पियन्स लिगतर्फ साविक विजेता रियलले मंगलबार राती तुलनात्मक रुपमा कमजोर सिएसके मस्कोसँग १–० को हार बेहोरेको थियो ।

स्मरणीय छ कि रोनाल्डो यसै समर १०५ मिलियन युरोमा बर्नबेयु छोड्दै इटालियन च्याम्पियन युभेन्ट्समा आवद्ध भएका थिए । पछिल्लो सिजन रोनाल्डोले शानदार प्रदर्शन गर्दै कुल ४४ गोल गरेका थिए । नावासका अनुसार रोनाल्डोले रियल छोडेपछि टिममा ठूलो स्थान खाली भएको छ र त्यसलाई परिपूर्ति गर्न रियलले ठूलै कसरत गर्नुपर्नेछ ।

मस्को विरुद्धको खेल पश्चात् मिडियाहरुसँग कुरा गर्दै नावासले भने, “क्रिष्टियानो रोनाल्डोले रियल मेड्रिडमा ठूलो खाली ठाँउ छोडेर गएका छन् । तपाईं सुर्यलाई एउटा औंलाले ढाक्न सक्नुहुन्न । जब रोनाल्डो रियलमा थिए तब उनको खातामा धेरै गोल थियो । तर त्यो सब अतित बनेको छ र हामी अतितमा रहन सक्दैनौं ।”

रियल मेड्रिडले सन् २००७ पछि पहिलोपटक लगातार तीन खेलमा गोल गर्न असफल भएको छ । नावासले अगाडी भनेका छन्, “हामी दुःखी छौं । विपक्षीसँग एउटा अवसर थियो, जसको उनीहरुले फाईदा उठाए । हामीले पनि राम्रो अवसर बनायौं तर त्यसलाई गोलमा परिणत गर्न सकेनौं । हामी दुर्भाग्यपूर्ण रह्यौं । हामी आगामी खेलहरुमा गोल गर्न चाहन्छौं ।”