रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते पाँचौं गोल्डेन बुट

बार्सिलोनाका लिओनल मेस्सीले पाँचौंपटक गोल्डेन बुट अवार्ड जितेका छन् । आज उनलाई एक कार्यक्रमबीच पाँचौं गोल्डेन बुट प्रदान गरियो । गत सिजन युरोपका शीर्ष पाँच लिगमध्ये सर्वाधिक गोलकर्ताको हैसियतमा मेस्सीले गोल्डेन बुट जितेका हुन् । गत वर्ष मेस्सीले ला लिगामा सर्वाधिक धेरै ३४ गोल गरेका थिए । गएको वर्ष मेस्सीकै प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले ला लिगाको उपाधिसमेत जितेको थियो ।

गत सिजन मेस्सीले स्पेनिस ला लिगामा गरेको ३४ गोल युरोपका शीर्ष पाँच लिग फ्रेन्च लिग वान, इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ए र जर्मन बुन्डेसलिगाका सर्वाधिक गोलकर्ताले गरेको भन्दा बढी गोल हो ।

यससँगै ३१ वर्षीय मेस्सीले युरोपियन क्षेत्रबाट लिगको सर्वाधिक गोलकर्ताको हैसियतमा गोल्डेन बुट पाँचपटक जितेका छन् । उनले सिजन २००९/१०, २०११/१२, २०१२/१३, २०१६/१७ मा पनि यो अवार्ड जितेका थिए । यसपटकसहित उनको गोल्डेन बुट संख्या पाँच पुगेको छ ।

अब मेस्सी युरोपियन गोल्डेन बुट सर्वाधिक धेरै पाँचपटक जित्ने एक्लो खेलाडी बनेका छन् । उनीपछि रियल मड्रिडका पूर्वखेलाडीसमेत रहेका इटालियन क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ४ पटक जितेका छन् । उनले सिजन २००७/०८, २०१०/११, २०१३/१४ र २०१४/१५ मा संयुक्त रूपमा यो अवार्ड जितेका थिए ।