रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक गोलकर्ता

बार्सिलोनाका अर्जेन्टनी खेलाडी लियोनल मेस्सी सन् २०१८ को शीर्ष गोलकर्ता बनेका छन् । मेस्सी उनका खास प्रतिद्वन्दी युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यस वर्षको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

सन् २०१८ का लागि क्लबका सबै खेलहरु सकिए । २०१८ को अन्तिम दिनसम्म आइपुग्दा स्पेनिस ला लिगाका खेलहरु आधा सिजनसम्म आइपुगेका छन् भने इटालियन लिग सिरी ए का खेल पनि यस वर्षका लागि सकिएका छन् । अब बाँकी खेलहरु सन् २०१९ को सुरुआतदेखि नै सुरू हुनेछन् |

च्याम्पियन्स लिगका फेब्रुअरीको दोस्रो साताबाट सुरू हुनेछन् ।
यसबीचमा बार्सिलोनाका खेलाडी मेस्सी यस वर्षको सर्वाधिक गोलकर्ता बने । उनले जारी प्रतियोगितामा ५१ गोल गरे । आफ्नो देश तथा क्लबका लागि गरेर उनी सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले क्लका लागि ४७ तथा देशका लागि ४ गोल गरेका छन् । यस्तै मेस्सी असिष्टमा पनि अगाडि छन् । उनले क्लब र देशला लागि जम्मा २७ गोलमा पास मिलाएका छन् । क्लबका लागि २३ गोलमा असिष्ट गरेका छन् भने देशका लागि ४ गोलमा पास मिलाएका छन् ।

यता सधैँ मेस्सीसँग टक्कर गरिरहने युभेन्टसका रोनाल्डो भने यस रेकर्डमा पछि परेका छन् । यस वर्षभरीको सर्वाधिक गोलकर्ता मेस्सीलाई पछ्याउँदै रोनाल्डोले ४९ गोल गरेका छन् । उनले क्ल्का लागि ४३ गोल गरेका छन् भने देशका लागि ६ गोल गरेका छन् ।

रोनाल्डो असिष्टमा पनि मेस्सीभन्दा पछि छन् । उनले जम्मा १३ गोलमा पास मिलाएका छन् । रोनाल्डोले देशका लागि १ तथा क्लबका लागि १२ गोलमा असिष्ट गरेका छन् । मेस्सीले यस रेकर्ड सन् २०१५ पछि लगातार आफ्नो नाममा पारेका छन् । २०१५ मा रोनाल्डो सर्वाधिक गोलकर्ता भएका थिए भने त्यसयता मेस्सीले सन् २०१६, २०१७ र २०१८ मा यस रेकर्ड आफ्नो नाममा बनाएका छन् ।