रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक गोलकर्ता बन्ने दाउमा

बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी सन् २०१८ को शीर्ष गोलकर्ता बन्ने दाउमा रहेका छन् । शनिबार रातिको खेलमा सेल्टा भिगोविरुद्ध एक गोल गरेका मेस्सी यस वर्षको शीर्ष गोलकर्ता दौडमा उनी अग्र स्थानमा रहेका छन् ।

शनिबार राति मेस्सीले यस वर्षका लागि अन्तिम खेल खेल्दा बार्सिलोनाले सेल्टा भिगोलाई २–० ले हराएको थियो । उनले खेलको ४५ औं मिनेटमा गोल गर्दै ला लिगामा शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थान कायमै राखेका छन् भने हालसम्म उनले देश र क्लबका लागि कूल ५१ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्ने दौडमा छन् । कूल ५० गोल गरेका मेस्सीले हिजोको खेलमा एक गोल गर्दै ५१ गोल र्पुयाएका छन् ।

मेस्सीले क्लका लागि ४७ तथा देशका लागि ४ गोल गरेका छन् । यस्तै सधैँ मेस्सीसँग टक्कर गरिरहने युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने यस रेकर्डमा पछि परेका छन् । यस वर्षभरीको सर्वाधिक गोलकर्ताको दौडमा रहेका मेस्सीलाई पछ्याउँदै रोनाल्डोले ४४ गोल गरेका छन् ।

३३ वर्षीय पोर्चुगिज स्ट्राइकर रोनाल्डो मेस्सीभन्दा ७ गोलले पछि परेका छन् । यद्यपि, रोनाल्डोले अब दुई खेल खेल्न बाँकी छ । इटालियन लिग सिरी एमा गए रातिको खेलमा पनि रोनाल्डोले गोल गर्न सकेनन् ।
अब मेस्सीलाई जित्न रोनाल्डोले कम्तिमा पनि ८ गोल गर्नु पर्ने हुन्छ । अब उनको क्लब युभेन्टसले सिरी एमा एटालान्टा र साम्प्डोरियासँग खेल्दैछ । यी खेलमा उनले ८ गोल गरेमा मात्र मेस्सीलाई पछि पार्न सक्नेछन् । यो करिब–करिब असम्भव जस्तै छ ।
यस्तै मेस्सी असिष्टमा पनि अगाडि रहेका छन् । उनले ला लिगामा मात्र १० गोलमा पास मिलाएका छन् । यस्तै ला लिगामा शीर्ष गोलकर्ता पनि मेस्सी नै छन् । उनले यस सिजन १५ गोल गरेका छन् भने शीर्ष गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका जिरोनाका क्रिस्थियन स्टौनीभन्दा४ गोलले अगाडि रहेका छन् ।