‘रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट’ – वेन रुनी

इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान एवं डिसी युनाइटेडका फरवार्ड वायन रुनीले लिओनेल मेसी विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । रोनाल्डोसँग गहिरो मित्रताका बाबजुद उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

रुनीले दुई पटक मेसीविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल हारेका थिए । गतसाता मेसीले वेम्बलीमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले टोटेनहमलाई पराजित गरेपछि रुनीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘ मेसीविरुद्ध खेलेका दुवै खेलमा यदि बार्सिलोना विपक्षी नभएको भए हामीले ज्तिने थियौं । मेरो नजरमा बार्सिलोना उत्कृष्ट टोली हो र मेसी उत्कृष्ट खेलाडी । मेसीले जे गर्छन् त्यो अद्भुत छ । उनीसँग सबै पक्षमा उत्तिकै सफलता हात पर्न सक्ने खुबी छ, रुनीले भने ।

‘ रोनाल्डो सुरुमा विंगरका रुपमा खेल्थे । त्यसपछि उनी भूमिका फेरेर स्ट्राइकरको रुपमा खेल्न थाले । अहिले उनी गोलकर्ताका रुपमा चिनिन थालेका छन्,’ रुनीले थपे । रोनाल्डो विंगर खेल्दा अत्यधिक छलाउने र डिफेन्सलाई छक्याउँदै आफ्ना खेलाडीलाई पास मिलाउने गर्थे । अहिले भने उनी एक फरवार्डका रुपमा गोल गर्ने कार्यमा ध्यान दिंदै आएका छन् ।

‘मेसीसँग सबै पक्ष छ । एक समय गोल गरिरहेका हुन्छन् त एकछिनमा मिडफिल्डमा पुगेर बल खोस्दै पास खेलिरहेका हुन्छन् । पारेको अवस्थामा उनी डिफेन्समा पनि उपस्थित हुन्छन् । मेसी नै सम्भवत सर्वकालीन महान खेलाडी हुन्,’ रुनीले थपे । रुनी र रोनाल्डो लामो समय म्यानचेस्टर युनाइटेडबाट सँगै खेले । रुनी र रोनाल्डो सम्मिलित युनाइटेडलाई फाइनलमा हराउँदै मेसी सम्मिलित बार्सिलोनाले च्याम्पियन्स लिग पनि जितेको थियो ।