रोनाल्डोबिना को पोर्चुगलको इटालीमाथि जित

यूईएफए नेसन्स लिगको समूह ए३ अन्तर्गत सोमबार भएको खेलमा पोर्चुगलले इटालीलाई १-० ले पराजित गरेको छ । पोर्चुगलका लागि दोस्रो हाफमा आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक सावित भयो । पछिल्लो सिजन इटालियन क्लब एसी मिलानमा अपेक्षित प्रदर्शन गर्न नसकेका सिल्भाले खेलको ४८ औं मिनेटमा ब्रुमाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । सिजनको सुरुआतमा स्पेनिस क्लब सेभिल्ला पुगेका सिल्भा अहिले लयमा देखिएका छन् । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएपछि सिल्भाले पोर्चुगलको आक्रमण सम्हाल्ने जिम्मेवारी लिएका थिए ।

अघिल्लो खेलमा पोल्यान्डसँग १-१ को बराबरीमा रोकिएको इटाली यस पराजयसँगै समस्यामा देखिएको छ । प्रशिक्षक रोबर्टो मान्चिनीले पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेका थिए । गोलरक्षक जियानलुइजी डोनारुम्मा र मिडफिल्डर जोर्गीन्होले मात्र आफ्नो स्थान बचाउन सके । डोनारुम्माले खेलको दोस्रो हाफमा केहि राम्रो बचाउ गर्दै टोलीको सम्भावना कायम राख्ने प्रयास गरे ।