रोनाल्डोले गरे म्यान्चेस्टर युनाइटेडको खुलेआम आलोचना

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लबका केही उच्च पदाधिकारीले धोका दिएको र मुख्य प्रशिक्षक इरिक टेन हागप्रति कुनै सम्मान नभएको एक अन्तर्वार्तामा बताएका छन् ।

गत सिजन सबै खाले प्रतियोगिता गरि २४ गोल गरेका रोनाल्डो युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका थिए । तर यस सिजन उनका लागि सुखद हुन सकेको छैन ।

युनाइटेड गत सिजन इङलिस प्रिमियर लिगको शीर्ष चारमा बस्न असफल भएसँगै रोनाल्डोले क्लब समक्ष आफूलाई बेच्न आग्रह गरेका थिए । तर क्लबले भने रोनाल्डो टोलीको प्रमुख खेलाडी रहेकाले बेचेन । त्यस्तै प्रशिक्षक टेन हागले पनि रोनाल्डो आफ्नो टोली रणनितीमा रहेकाले उनलाई अन्यत्र जान नदिने बताएका थिए ।

तर सिजनको पहिलो खेलबाटै टेन हागले रोनाल्डोलाई बेन्चमा राखे । जसले रोनाल्डो र टेन हागको सम्बन्ध बिग्रिएको थियो ।

गत महिना टोटनहममाथि २-० को जित निकालेको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न अस्विकार गरेपछि रोनाल्डो र टेन हागको सम्बन्ध थप बिग्रिएको छ । उनले यस सिजन लिगमा मात्र एक गोल गरेका छन् ।

पोर्चुगलको नेतृत्व गर्दै विश्वकप २०२२ का लागि कतार भ्रमणमा निस्कनुअघि रोनाल्डोले क्लबका केही उच्च पदाधिकारी र प्रशिक्षक टेन हागले आफूलाई क्लबबाट बाहिरियोस् भन्ने मनसायका साथ खराब व्यवहार गरेको दाबी गरे ।

‘प्रशिक्षक मात्र होइन क्लबकै अन्य दुई तीन जना पदाधिकारी पनि मेरोविरुद्धमा छन्,’रोनाल्डोले भने,’उनीहरुले मलाई धोका दिए । ती पदाधिकारीहरु म ओल्ड ट्रफोर्ड फर्किएको हेर्न चाहदैन थिए । म क्लब भित्रिएपछि उनीहरु निराश भएका थिए । ‘

टेन हागले मार्कुस रासफोर्ड, एन्थोनी मार्सियाल र एन्थोनी इलंगालाई अग्रपक्तिमा अवसर दिइरहेका छन् ।

‘प्रशिक्षक टेन हागप्रति मेरो कुनै सम्मान छैन किनभने उनले मलाई सम्मान गर्दैैनन्,’ रोनाल्डोले भने, ‘मलाई कसैले सम्मान गर्दैन भने म पनि उनीहरुलाई सम्मान गर्दिन ।’