रोनाल्डोको शरीरमा किन एउटै टाटु छैन? कारण पढ्नुहोस्

विश्व फुटबल जगतमा शरीरमा खोपिने विभिन्न आकार प्रकारका अक्षर र तस्विरहरुको टाटु र फुटबल खेलाडीहरुबीच निकै नै नजिकको सम्बन्ध रहेको देखिन्छ ।

अधिकांश खेलाडीहरुको जिउमा कुनै न कुनै किसिमको टाटु भेटिन्छ । कतिपय खेलाडीहरुले गोलको खुशीयाली वा जितको खुशीयाली मनाउने क्रममा आफ्नो जर्सी फुकाल्दा उनीहरुको टाटुहरु पनि देख्न सकिन्छ ।
उदाहरणका रुपमा चर्चित स्वीडीस फरवार्ड ज्लाटन इब्राहिमोभिचको पछिल्ला भागलाई लिन सकिन्छ, जहाँ ज्लाटनको पछिल्लो भाग टाटुले भरिएको छ । खेलाडी र टाटुबीच एउटा फेशन पनि भईसकेको छ । तर अहिले चल्तीका सुपर स्टार तथा स्पेनीस जायन्ट रियल मेड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोको जिउमा भने अझैसम्म टाटुले छुन सकेको छैन ।
रोनाल्डोको शरीरमा एउटै टाटु पनि छैन । रोनाल्डोले यो टाटु फेशनलाई नअपनाउनुको कारण भने मन छुने किसिमको भावुक पनि छ । द मिररमा छापिएको एउटा लेखअनुसार रोनाल्डोले आफूलाई टाटु फेशनबाट किन टाढा राखेको भन्ने कुरा खुलाइएको छ ।
एएसमा छापिएको खबर अनुसार रोनाल्डोले नियमित जसो आफ्नो रक्तदान गर्ने गर्दछन् । रेड क्रसका अनुसार एउटा टाटु खोपेपछि आम मानिसले कम्तिमा पनि चार महिनाका लागि रक्त दान गर्नुहुँदैन, ताकि त्यो बेला रगतको माध्यमबाट मानिसको जिउमा सर्न सक्ने विषाक्त कुराहरुलाई रोक्न सकियोस ।
गत बर्ष पनि रोनाल्डोले दुईपटक रक्तदान गरेका थिए र उनले सामाजिक सञ्जालबाट त्यसको जानकारी समेत दिएका थिए । रोनाल्डो एउटा स्टार खेलाडी हुनुको साथै एक बोन म्यारो डोनर पनि हुन् । उनले यो अभियान आफ्नो पूर्व राष्ट्रिय टिमका टिममेट कार्लोस मार्टिसको छोरालाई सहयोग गरेर शुरु गरेका थिए ।
बोन म्यारो उपचारका लागि पनि रगतको महत्वपूर्ण भूमिका हुने गर्दछ । स्मरणीय छ कि रोनाल्डोले बोन म्यारो डोनेशन गर्दा कुनै पिडा नहुने दावी गरेका छन् ।