रोनाल्डोको लागि युभेन्टसले मलाई धोका दियो : हिग्वेन

एसी मिलानका लागि लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिग्वेनका अनुसार आफ्नो क्लब युभेन्टसले क्रिष्टियानो रोनाल्डोलाई किनेपछि आफूलाई नियतबश क्लबबाट बाहिर निकालेको आशय व्यक्त गरेका छन् ।

हिग्वेनलाई युभेन्टसले सन् २०१६ मा नापोलीबाट ९० मिलियन युरोमा किनेको थियो । हिग्वेनले युभेन्टसका लागि दुई सिजनमा ४० सिरि ए गोल गरेका थिए । यद्यपि हिग्वेनले क्लबलाई च्याम्पियन्स लिग जिताउन नसकेपछि युभेन्टसले रोनाल्डोलाई अनुबन्ध गरेको थियो ।

पाँच पटकका बेलन डि’अर विजेता रोनाल्डो युभेन्टसमा आवद्ध भएपछि क्लबले हिग्वेनलाई लोनमा एसी मिलान पठाएको थियो । अहिले आएर हिग्वेनका अनुसार आफूले कहिल्यै पनि युभेन्ट्स छोड्न नचाहेको कुरा बताएका छन् । यद्यपि उनले आफूलाई क्लबबाट नियतवश बाहिर निकालिए तापनि युभेन्टसको कसैसँग पनि गुनासो नरहेको बताएका छन् ।

हिग्वेनले इटालियन मिडिया गजेट्टा डेल्लो स्पोर्टसँग कुरा गर्दै भनेका छन्, “होइन, मलाई युभेन्टसप्रति कुनै रिस भावना छैन । किनकी क्लबले मलाई राम्रो व्यवहार गर्यो । खेलाडी तथा समर्थकहरुले मलाई धेरै माया गरे । तर म जान चाहँदैनथें । सामान्यतया सबैले मलाई नियतबश क्लबबाहिर पठाएको भन्छन् । मिलानमा पुग्ने बित्तिकै उनीहरुले मलाई धेरै माया गरे र मलाई मनाउन सफल भए ।

सायद केही गडबड भयो होला, त्यहि भएर उनीहरुले रोनाल्डोलाई अनुबन्ध गरे । मैले क्लब छोड्ने मैले निर्णय गरेको थिएन । मैले युभेन्टसलाई सबैकुरा दिएँ, थुप्रै उपाधि जितें । क्रिष्टियानो आएपछि क्लबमा निकै बदलाव देखियो । क्लबले मलाई यहाँ बस्न नसक्ने भन्यो र उनीहरु अन्य समाधान खोजिरहेका थिए । त्यसको सही विकल्प मिलान बन्न पुग्यो ।”