रोनाल्डोको भन्दा धेरै मेस्सीको कमाई

बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी यसवर्ष सर्वाधिक धेरै कमाउने खेलाडी बनेका छन् । उनले कमाइ गर्ने मामिलामा रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई निकै पछि पारेका छन् ।

फुटबल क्षेत्रमा एक वर्षमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा ३० वर्षीय मेस्सी पहिलो नम्बरमा छन् । उक्त कमाइमा खेलाडीको पारिश्रमिक, बोनस र विज्ञापनबाट आउने रकम रहेको छ ।

जसअनुसार मेस्सीले यस वर्ष कूल १ सय १० मिलियन पाउन्ड आम्दानी गरेका छन् । यससँगै मेस्सी वर्षदिनमा सय मिलियन पाउन्ड कमाउने पहिलो फुटबलर पनि बनेका छन् ।
मेस्सीपछि धेरै कमाउनेमा रियलका रोनाल्डो दोस्रो स्थानमा छन् । उनले कूल ८२ मिलियन पाउन्ड कमाएका छन्, जुन मेस्सीको भन्दा २८ मिलियन कमी हो ।

त्यसैगरी, तेस्रो नम्बरमा गत समरमा बार्सिलोना छाडेर गएका पिएसजीका ब्राजिलियन स्टार नेइमार रहेका छन् । उनले ७१ मिलियन पाउन्ड कमाएका छन् । उनी बार्सिलोनाबाट विश्वकीर्तिमानी २ सय २२ मिलयन युरोमा पिएसजी गए पनि वार्षिक कमाइमा भने पछाडि परेका छन् ।

त्यसपछि रियलकै वेल्स स्टार ग्यारेथ बेल धेरै कमाउनेमा चौथो नम्बरमा रहेका छन् । उनले यसवर्ष ३९ मिलियन पाउन्ड काएका छन् । उनीपछि पाँचौंमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके छन्, उनले २५ मिलियन पाउन्ड कमाए ।