रोनाल्डोको प्रभाव : युभेन्टसले ‘सिरी ए’ मा रच्यो यस्तो इतिहास

क्रिस्टियानो रोनाल्डोले अहिले आफ्नो लय समातेका छन् । युभेन्टसमा सुरुआती खेलमा गोलका लागि संघर्ष गर्नु गरे पनि रोनाल्डोले अहिले गोल र असिस्ट उत्तिकै गरिरहेका छन् । उनले ‘सिरी ए’मा १२ खेलबाट ८ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा २ खेलबाट १ गोल गरेका छन् । युभेन्टसले यो सिजन लिगमा गरेका कूल २६ गोलमध्ये १४ गोलमा रोनाल्डोको सहभागिता छ ।

रोनाल्डोकै प्रेरणादायी प्रदर्शनमा युभेन्टस यतिबेला क्लबको सबैभन्दा सबल इतिहासमा छ । अर्थात्, युभेन्टस हालसम्म घरेलु लिग ‘सिरी ए’मा अपराजित छ । यसअघि १० खेलसम्म अपराजित रहेको युभेन्टसले क्लबको इतिहासमा सुरुआती १० खेलमा पहिलोपटक अपराजित रहेको रेकर्ड बनाइसकेको छ ।
‘सिरी ए’मा साबिक विजेता युभेन्टस हालसम्म अपराजित छ । १२ खेल सकिँदा युभेन्टस ३४ अंकसहित लिगको शीर्ष स्थानमा छ । उसलाई अहिले शीर्ष स्थानमा ६ अंकको अग्रता छ ।

लिगका यस्तो सफलतामा रहेको युभेन्टसले ‘सिरी ए’ लिगको इतिहासमै नयाँ रेकर्ड बनाएको छ । युभेन्टस अब लिगमा सुरुआती १२ खेलपछि सर्वाधिक धेरै अंक जोड्ने पहिलो क्लब बनेको छ । युभेन्टसले १२ खेलबाट ३४ अंक जोड्दा मात्रै २ अंक गुमाएको छ । जब कि, यो ‘सिरी ए’ को इतिहासमै सबैभन्दा राम्रो अवस्था हो, जुन युभेन्टसले बनायो । लिगमा हालसम्म सुरुआती १२ खेलपछि ३४ अंक कुनै पनि क्लबले जोडेको थिएन ।

लिगमा हालसम्म १२ खेल सकिँदा युभेन्टस ११ खेलमा स्पष्ट जितसहित १ खेलमा बराबरीमा रोकिएको छ । युभेन्टस अक्टोबर २० जेओनासँग आफ्नो घरेलु मैदानमा भएको खेलमा १–१ को बराबरीमा रोकिएको थियो । सो खेलमा पनि रोनाल्डोले नै गोल गरेका थिए ।

लिगमा युभेन्टसले हालसम्म विपक्षीको पोस्टमा २६ गोल गर्दा आफूले भने मात्रै ८ गोल खाएको छ । यता, रोनाल्डोले भने लिगका १२ वटै खेल खेल्दै कूल ८ गोल गरेका छन् । उनले ६ गोलका लागि पाससमेत मिलाएका छन् ।