रोनाल्डोको पहिलो खेलमा नया क्लब युभेनट्स को जित

पोर्चुगिज सुपर स्टार क्रिष्टियानो रोनाल्डोले डेब्यु गरेको खेलमा साविक विजेता युभेन्ट्सले चिभोमाथि नाटकीय रुपमा रोमाञ्चक जित हात पार्दै विजयी शुरुवात गरेको छ ।

चिभोको घरेलु मैदानमा सम्पन्न खेलमा पछि परेको स्थिति उल्टाउँदै युभेन्ट्सले २–३ रोमाञ्चक जित हात पारेको हो ।

खेलको तेस्रो मिनटमै सामी खेदिराको गोलबाट युभेन्ट्सले शुरुवाती अग्रता लिएको थियो । यद्यपि ३८ औं मिनटमा मेरियज स्टेपिन्स्कीले चिभोका लागि बराबरी गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५६ औं मिनटमा इमानुएले जियाचेरिनीले चिभोका लागि दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा अप्रत्याशित अग्रता दिलाएका थिए ।

युभेन्ट्सले खेलको अन्तिमतिर थप एक गोल गरेको थियो, तर भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो गोललाई रोनाल्डोको ह्याण्डबल बताउँदै त्यो गोलको मान्यतालाई अस्वीकार गरेको थियो ।

यद्यपि इन्जरी समयको ९३औं मिनटमा फेडरिको बर्नाडेस्चीले युभेन्ट्सका लागि तेस्रो गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई महत्वपूर्ण तीन अंक दिलाए । रोनाल्डोले आफ्नो डेब्यु खेलमा केही सुन्दर गोल प्रयास गरे तापनि त्यसलाई चिभोका गोलरक्षकले विफल तुल्याइदिएका थिए ।