रोनाल्डोको ध्यान च्याम्पियन्स लिग तिर

FILE PHOTO: Soccer Football - Serie A - Juventus v Lazio - Allianz Stadium, Turin, Italy - August 25, 2018 Juventus' Cristiano Ronaldo during the match REUTERS/Massimo Pinca/File Photo

इटालियन लिगमा युभेन्ट्सका लागि गोलको खाता खोलेका क्रिस्टियानो रोनाल्डो अब आफ्नो ध्यान च्याम्पियन्स लिग फुटबलतर्फ केन्द्रित गर्न चाहन्छन् । लिगको सुरुआती तीन खेलमा गोल नगरेका कारण दबाबमा रहेको रोनाल्डोले आइतबार सासुओलोविरुद्ध जितमा २ गोल गर्दै केहि राहत महसुस गरेका छन् ।

च्याम्पियन्स लिगको खेल अन्तर्गत बुधबार युभेन्ट्सले भ्यालेन्सियाको सामना गर्दैछ । च्याम्पियन्स लिगको पहिलो खेलमा रोनाल्डो विगतको लयलाई यसपटक कायम राख्ने सुरमा छन् । ‘मलाई च्याम्पियन्स लिग आफ्नो घर जस्तो लाग्छ । यो मेरो लागि सबैभन्दा मनपर्ने प्रतियोगिता पनि हो,’ रोनाल्डोले भने, ‘पक्कैपनि यस प्रतियोगितामा केहि हदसम्म भाग्यको साथ् पनि चाहिन्छ । हामी केहि कठिन समूहमा परेका छौं तर यहाँबाट उम्कन तत्पर पनि छौं ।’

घरेलु फुटबलमा विगत केहि वर्षयताअधिपत्य जमाएको युभेन्ट्सले युरोपेली फुटबलमा भने सोहि फर्मलाई निरन्तरता दिन सकेको छैन । पछिल्ला ७ सिजन लिग जितेको युभेन्ट्सले विगत दुई सिजन लिग र कपको दोहोरो सफलता नै हासिल गरेको छ । सन् १९९६ यता भने युभेन्ट्सले युरोपेली उपाधि जित्न सकेको छैन । पछिल्लो चार संस्करणमा दुई पटक फाइनल पुगेपनि युभेन्ट्स अन्तिम खुड्किलो पार गर्न असफल रहयो । त्यसै समस्या सुल्झाउन युभेन्ट्सले रोनाल्डोका लागि १ सय मिलियन युरो खर्चेको हो ।

रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत र सफलताको हिसाबले आफूलाई सबैभन्दा सफल खेलाडीको रुपमा उभ्याएका छन् । उनले पछिल्लो ५ सिजनमा ४ पटक उपाधि जितेका छन् । सँगसँगै उनले प्रतियोगितामा सर्वाधिक १ सय २० गोल पनि गरिसकेका छन् । आइतबार सासुओलो विरुद्धको गोलले रोनाल्डोलाई मानसिक रुपमा धेरै हौसला मिल्नेछ ।

भ्यालेन्सियाविरुद्ध रोनाल्डोले विगतमा थुप्रै खेल खेलेका छन् । उनले हालसम्म १८ पटक भ्यालेन्सियाको सामना गर्दा १५ गोल गरेका छन् । यसै समूहमा स्विटजरल्यान्डको योङ ब्वाइज र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रहेका छन् ।