‘रोनाल्डोको जति गोल म गरेर देखाउँछु’

रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जिमाले यो सिजन आफूले प्रशस्तै गोल गर्ने दाबी गरेका छन् । रियल मड्रिडको अफिसियल टिभीसँग कुरा गर्दै बेन्जिमाले यसबेला आफूमाथि गोल गर्नुपर्ने दबाब रहेको र सो काम आफूल गर्ने बताएका हुन् ।

विशेष अन्तर्वार्तामा बोल्दै बेन्जिमाले रोनाल्डो क्लबमा नभएको अवस्थामा उनको गोलको अभाव हुन नदिन आफूले धेरैभन्दा धेरै गोल गर्न प्रयास गर्ने बताए । उनले सिजनको सुरुआतमा केही कठिनाइ भए पनि अब ती दिन सकिएको बताए ।

‘म रियल मड्रिडमा छु । मैले यहाँ निकै रमाइलो गरिरहेको छु,’ बेन्जिमाले भने, ‘म टिमका लागि सकेसम्म धेरै योगदान दिन चाहन्छु ।’

रोनाल्डो नहुँदा रियलले गोल गर्न सक्दैन भन्ने भ्रम आफूले तोड्ने बेन्जिमाले बताए । ‘अहिले हामीसँग क्रिस्टियानो छैनन् । यसको अर्थ यो होइन कि, यहाँ गोल हुँदैन,’ बेन्जिमाले भने, ‘अब गोल गर्ने पालो मेरो हो । म गोल र असिस्ट दुवै गर्न मन पराउँछु ।’

यो सिजन ३५ गोल पुग्ला त भनेर सोधिएको प्रश्नमा बेन्जिमाले भने, ‘अवश्य पनि, मलाई ३५ अंक मन पर्छ । र, म यो सिजन ३५ गोल गर्न सक्छु ।’