रोनाल्डोको गोल बाबजुद युभेन्ट्स जित्न असफल

सिरी ‘ए’ मा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।

आइतबार भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले जुवानको पासमा निर्णायक गोल गरेका हुन् ।

तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए । कोरेयाको पासलाई उनले सदुपयोग गरे ।

बराबरीसँगै युभेन्ट्स लिगको दोस्रो स्थानमा उक्लन असफल भएको छ ।

तेस्रो स्थानको युभेन्ट्सले ७ खेलमा १३ अंक जोडेको छ । युभेन्ट्स लिग लिडर एसी मिलान भन्दा ३ अंकले पछि रहेको छ ।

लाजियो ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।