रोनाल्डोको गोलमा युभेन्टसको जित; अपराजित यात्रा कायमै

क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्दा इटालियन सिरी एमा युभेन्टसले अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
टोरिनोस्थित एलिनाज एरेनामा भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले साम्प्डोरियालाई २–१ ले हरायो ।

खेलको दोस्रो मिनेटमा नै पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए । ३३औं मिनेटमा साम्प्डोरियाले पेनाल्टी पायो । जसलाई फाविया काग्लियारेल्लाले गोलमा परिणत गर्दै पहिलो हाफअघि खेल १–१ गोलको बराबरीमा पुर्याए ।

६५औं मिनेटमा युभेन्टसले पनि पेनाल्टी पायो । यो पेनाल्टीलाई रोनाल्डोले गोल गरेर आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा युभेन्टस विजयी भयो । इटालियन सिरी एमा युभेन्टसमात्र अपराजित टिम हो । १९ खेलमा उसले दुई बरारबी र १७ जीत निकाल्दै ५३ अंक बनाएको छ । साम्प्डोरिया भने २९ अंक सहित पाँचौं स्थानमा छ ।