रोनाल्डोको गोलमा युभेन्ट्सको पुनरागमन जित

युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा हंगेरीको एफटिसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए ।

एलिनाज स्टेडियममा सुरुवाती १ गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा युज्नीले गोल गर्दै एफटिसीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले समूह ‘जी’ मा ४ खेलमा ९ अंक जोड्यो ।

युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । यस समूहबाट अपराजित बार्सिलोना पनि नकआउट चरणमा पुगिसकेको छ ।