रोनाल्डोको गोलमा युभेन्ट्सको अपराजित यात्रा कायमै

रोनाल्डोले शनिबार इटालियन लिग अन्तर्गत उडिनेजेविरुद्ध २-० को जितमा युभेन्ट्सका लागि गोल गरेका छन् । अमेरिकी महिलाले रोनाल्डोविरुद्ध ९ वर्षअगाडी बलात्कारको आरोप लगाएको एक साता नबित्दै रोनाल्डोले आफू खेलमा केन्द्रित रहेको संकेत दिएका छन् ।

रोनाल्डोले पहिलो हाफको अन्तिम समयतिर गोल गरेका थिए । उनले ३७ औं मिनेटमा गरेको शक्तिशाली प्रहार फार पोस्टमा गोल भएको थियो । रोनाल्डोले गोल गरेपछि आफ्ना सहकर्मीलाई केहि ठाउँ खाली राख्न आग्रह गर्दै टेलिभिजन क्यामराअगाडी आफ्नो ट्रेडमार्क सेलिब्रेसन गरेका थिए । उनले लिगको चौथो गोल गरेसँगै रंगशाला भने ताली र गालीको सम्मिश्रणले भरिएको थियो । खेल सुरु हुनुअघि रोनाल्डोको नाम लिँदा भने दुवैतर्फ दर्शकले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

खेलमा रोनाल्डोले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए । त्यसअघि नै युभेले खेलमा १-० को अग्रता लिएको थियो । मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले ३३ औं मिनेटमा जोआओ क्यन्सेलोको पासमा गोल गरेका थिए । युभेन्ट्सले लिगको लगातार आठौँ खेल जित्दै अंक तालिकामा ९ अंकको अग्रता कायम गरेको छ । यद्यपी नेपोलीले एक खेल कम खेलेको छ ।