रोनाल्डोको खेल हेर्न नपाएपछि कोरियन समर्थकले मुद्दा हाल्ने

क्रिष्टियानो रोनाल्डोले गत साता कोरियामा भएको मैत्रीपुर्ण फुटबल म्याचमा युभेन्ट्सका लागि नखेलेपछि दुई हजार भन्दा बढी कोरियाली समर्थकहरुले आयोजक विरुद्ध मुद्दा हाल्ने तयारीमा छन् । स्मरण रहोस, दक्षिण कोरियाको सियोल ओलम्पिक स्टेडियममा शुक्रबार भएको खेलमा युभेन्टसले के–लिग अल स्टारसँग ३–३ को बराबरी खेलेको थियो ।

यद्यपि त्यो खेलमा रोनाल्डोले भने खेलेनन् । रिपोर्टअनुसार खेलअघि आयोजकले युभेन्ससँग रोनाल्डोलाई कम्तिमा पनि ४५ मिनट खेलाउने सहमति भएको बताएको थियो । खबरअनुसार सो खेलको टिकट मुल्य २७ हजार रुपैयादेखि ३६ हजार रुपैयासम्म रहेको थियो ।

टिकट बिक्री शुरु भएको दुई घण्टाको अन्तराल मै सबै ६५ हजार टिकट बिक्री समेत भएको थियो । स्रोतका अनुसार कोरियामा कानुनी सल्लाह दिने कम्पनी म्युंगानका वकिल किम हुन कीले आयोजकले समर्थकहरुलाई क्षतिपुर्ति वापतको रकम फिर्ता नगरे उनीहरुले आधिकारिक रुपमै आयोजक विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

त्यति मात्र नभएर कोरियाली समर्थकहरुले सामाजिक सञ्जालहरुमा रोनाल्डोप्रति आक्रोश समेत पोखिरहेका छन् ।