रोनाल्डोको किर्तिमान तोडे मेसीले

च्याम्पियन्स लिगतर्फ बुधबार राती पिएसभी विरुद्ध गोल गर्दै बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले क्रिष्टियानो रोनाल्डोको किर्तिमान आफ्नो नाममा लेखाएका छन् । मेसीको त्यो गोलसँगै च्याम्पियन्स लिगमा एउटै क्लबबाट सर्वाधिक गोल गर्ने किर्तिमान मेसीले आफ्नो नाममा लेखाएका हुन् ।

स्मरणीय छ कि यसअघि यो किर्तिमान यसै समर इटालियन क्लब युभेन्ट्स पुगेका रोनाल्डोको नाममा थियो । रोनाल्डोले ९ सिजन रियल मेड्रिडमा बिताउने क्रममा क्लबका लागि १०५ च्याम्पियन्स लिग गोल गरेका थिए । विचारण्ीय छ कि समर ट्रान्सफरमा युभेन्ट्सले रोनाल्डोका लागि रियल मेड्रिडलाई १०५ मिलियन युरो नै तिरेको थियो ।

पिएसभी विरुद्ध मेसीले खेलको ६१ औं मिनटमा गोल गरेका थिए । च्याम्पियन्स लिगमा मेसीको यो १०६ औं गोल थियो । मेसीको त्यो किर्तिमानी गोल निकै उत्कृष्ट पनि थियो । मेसीले यस सिजन च्याम्पियन्स लिगमा हालसम्म पाँच गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगमा एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसी र रोनाल्डोपछि रियल मेड्रिडकै अर्का लिजेण्ड राउल छन् । उनले कुल ६६ गोल गरेका छन् । त्यस्तै ४७ गोल गरेका रियल कै अर्का फरवार्ड करिम बेन्जेमा चौथो स्थानमा छन् । त्यस्तै समान ४२ गोलका साथै पाँचौं स्थानमा बायर्न म्युनिखका थोमस मुलर र युभेन्ट्सका लिजेण्ड अलेसान्ड्रो डेल पियरो छन् ।