रोनाल्डोको उत्कृष्ट प्रदर्सनमा युभेन्ट्सको जित, गोल गर्न सफल

क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन सिरी-ए फुटबलमा युभेन्ट्सले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा युभेन्ट्सले आइतबार भएको खेलमा सासुलोलाई २ – १ ले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले दुवै गोल गरे । सासुलोका खौमा बाबकरले एक गोल फर्काए । खेलको तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । रोनाल्डोको यो युभेन्ट्सको लागि डेब्यु गोल हो ।रोनाल्डोले चार खेलपछि युभेन्ट्सका लागि गोल गरेका हुन् । अघिल्ला ३ खेलमा रोनाल्डो गोल गर्न असफल भएका थिए ।

खेलको ५६ औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २ – ० को अग्रता दिलाए । योसंगै रोनाल्डोले करियरको ४ सयौं लिग गोल पुरा गरेका छन् । यस्तै रोनाल्डोको यो करियरको ६६० औं गोल हो । त्यसपछि खेलको ९० औं मिनेटमा सासुलोका बाबकरले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । यस्तै खेलको इन्जुरी समयमा डुल्गास कोस्टाले रातो कार्ड पाएपछि युभेन्ट्स केहि समय १० खेलाडीमा सिमित भएको थियो ।