‘रोनाल्डोको आगमनले सिरि ए सबैभन्दा उत्कृष्ट लिग बनेको छ’

नापोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टीले इटालीको घरेलु लिग सिरी ‘ए’ रोमाञ्चक बनेको बताएका छन् । बार्सिलोनासँगको खेल खेल्नुअघि प्रशिक्षक एन्सेलोट्टीले यस्तो बताएका हुन् ।

क्रिस्टियानो रोनाल्डो अघिल्लो सिजन मात्र स्पेनबाट इटाली गएका हुन् । पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डो स्पेनिस महारथी क्लब रियल मड्रिडबाट इटालीको च्याम्पियन क्लब युभेन्टस गएका हुन् । उनी इटाली गएपछि युभेन्टसले दुई वटा उपाधि जितेको थियो । युभेन्टसले सुपरकोपा इटालियाना र सिरी ‘ए’को उपाधि जितेको थियो ।

उनले युभेन्टसलाई नापोलीविरुद्ध फराकिलो अंकसहित सिरी ‘ए’को उपाधि दिलाएका थिए । सिरी ‘ए’ मा नापोली दोस्रो बनेको थियो । ऊ शीर्ष स्थानको युभेन्टसभन्दा ११ अंकले पछि परेको थियो । तर, पनि रोनाल्डोको ‘इन्ट्री’ भएपछि सिरी ‘ए’ रोमाञ्चक बनेको नापोलीका प्रशिक्षकको भनाइ छ ।

उनले रोनाल्डोका कारण सिरी ‘ए’ माथि उक्लँदै गरेको बताए । प्रिमियर लिग र ला लिगा विजेता रोनाल्डो सिरी ‘ए’ खेल्न आएपछि इटालीको घरेलु लिग विश्वकै उत्कृष्ट घरेलु लिग बनेको बताए । उनले भने, ‘रोनाल्डो आएपछि सिरी ‘ए’ केही माथि उठेको छ । इंग्ल्याण्डको प्रिमियर लिग र स्पेनको ला लिगा जितेका रोनाल्डो इटाली आएपछि सिरी ‘ए’ विश्वकै उत्कृष्ट घरेलु लिग बनेको छ ।’

उनले थपे, ‘त्यो एक बेला थियो, इटालियन सिरी ‘ए’ ला लिगा र प्रिमियर लिगभन्दा सानो लिग थियो । तर, रोनाल्डो आएपछि रोमाञ्चकता थपिएको छ । गत वर्ष इटालियन लिग सिरी ‘ए’ खेल्न आएका रोनाल्डो हाम्रो लिगका लागि महत्त्वपूर्ण खेलाडी हुन् । मेरो विचारमा इटालियन फुटबल एक ठूलो स्तरमा पुगेको छ ।’

यस्तै उनले बिस्तारै बिस्तारै इटालियन फुटबल अगाडि बढिरहेको बताए । उनले भने, ‘हाम्रा मैदान र प्रतिस्पर्धा दुवै सानो थियो । तर, मेरो विचारमा यो बिस्तारै बिस्तारै उत्कृष्ट हुँदै गएको छ ।’

सन् २०१९–२० को सिरी ‘ए’ अगस्ट २४ बाट सुरु हुँदैछ । जहाँ, साबिकको विजेता तथा सर्वाधिक ८ पटकको विजेता टोली युभेन्टस र पर्माले खेल्नेछन् । यता, नापोलीले भने अगस्ट २५ बाट नयाँ सिजनको सिरी ‘ए’को सुरुआत गर्नेछ । उसले पहिलो खेलमा फ्लोरेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । उसले दोस्रो खेलमा नै युभेन्टसको सामना गर्नेछ ।