रोनाल्डोका कारण पोग्बाले क्लब नछाड्ने युनाइटेडको आशा

एजेन्सी, हालै पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्लबमा पुनः अनुबन्ध गर्न सफल इङलिस क्लब म्यान्चेस्टर युनाइटेड आफ्ना स्टार खेलाडी पल पोग्बाले पनि आफ्नो क्लबसँगको सम्झौता लम्ब्याउने बारे आशावादी रहेको देखिन्छन्। रिपोर्टका अनुसार रोनाल्डो क्लबमा फर्केका कारण पोग्बाले पनि आफ्नो सम्झौता लम्ब्याउने युनाइटेडको आशा रहेको छ।

म्यान्चेस्टर युनाइटेडका स्टार मिड्फिल्डर पल पोग्बाले यस प्रेमियर लिग सिजनको सुरुवाती ३ खेलमा ५ असिस्ट गरि सकेका छन्। रिपोर्टका अनुसार स्पेनिश क्लब रियल मड्रिड र फ्रेन्च क्लब पि.एस.जिको नजर उनी माथी रहेको छ। पोग्बा यो सिजन सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छाड्न सक्ने छन्।
पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि २०२ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।