रियल सँगको हार पछि कोम्यान माथि फ्यानहरूको दुर्व्यवहार

ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको थियो भने उक्त हारबाट बार्सिलोना फ्यानहरू खुसी थिएनन् र खेल पछि आफ्नो कोच माथि फ्यानहरूले आफ्नो आक्रोश निकालेका छन्। आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेल पछि आफ्नो घर जाने क्रममा कोम्यान माथि बार्साका फ्यानहरूले आक्रमण गरे- हाल सामाजिक सञ्जालमा कोम्यान माथि फ्यानहरू द्वारा भएको दुर्व्यवहारको भिडियो भाइरल हुँदै गएको छ। । कोम्यानको गाडीमा माथि आक्रोशित फ्यानहरूले आक्रमण गरे भने केही फ्यान उनको गाडी माथि चढ्न प्रयास गरे भने केही फ्यानले उनलाई क्लब छोड्न आग्रह गर्दै गरेको उक्त भिडियोमा देख्न र सुन्न सकिन्थ्यो।

उक्त घटना पछि बार्साले आफ्नो फ्यानहरूको व्यवहारको निन्दा गर्दै पोस्ट गरेको छ।

“एफसी बार्सिलोना सार्वजनिक रुपमा उक्त हिंसात्मक र घृणित कार्यहरूको निन्दा गर्दछ जुन हाम्रा प्रबन्धकले क्याम्प नाउ छोड्दा भोगेका थिए। क्लबले सुरक्षा र अनुसन्धानात्मक उपायहरू लिनेछ ताकि यस्तो दुर्भाग्यपूर्ण घटनाहरू दोहोरिन नपरोस्,” बार्सिलोनाले एक विज्ञप्तिमा भन्यो।

बार्सिलोनाको मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे। बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । रोड्रिगोको पासमा अलबाले खेलको ३२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अग्युरोले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो । यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलले ९ खेलमा २० अंक जोडेको छ ।