ला लिगामा साविक विजेता रियल मड्रिड र बार्सिलोना दुबै पराजित भएको छ ।
शनिबार राति भएको खेलमा रियल क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।
रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे ।
खेलको १६ औं मिनेटमा लोजानोले गरेको गोल नै क्याडिजको जितमा निर्णायक बन्यो ।
क्याडिजविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा रियलले महत्वपूर्ण ३ अंक गुमाउनु परेको हो ।
जितसँगै क्याडिज तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । क्याडिजले ६ खेलमा १० अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा यथावत रहेको छ । सिजनको पहिलो हार व्यहोरेको रियलले ५ खेलमा १० अंक जोडेको छ ।
बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ ।
शनिबार राति बार्सिलोना गेटाफेसंग १–० ले स्तब्ध बनेको हो ।
गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।
बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।
बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए ।
लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिड बराबर १० अंक जोडेको छ ।
काडिज र ग्रानाडाले समेत समान १० अंक जोडेका छन् । बार्सिलोना भने ७ अंक सहित तालिकाको नवौं स्थानमा छ ।