स्पेनिस लिग ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । रियलले रायो भालेकानोबिरुद्ध ३-२ गोल अन्तरले हारेको हो ।
सोमबार राति भएको खेलमा घरेलु टोली रायो भालेकानोको जितमा सान्टी कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरे । रियलका लुका मोड्रिच र इडर मिलिटाओले गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा सान्टी कमसानाले फ्रान्सिस्को गार्सियाको पासमा गोल गर्दा रियल खेलमा पछि पर्यो । ३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ मा ल्याए ।
४१ औं मिनेटमा इडर मिलिसाओले मार्काे एसेन्सियोको पासमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ४४ औं मिनेटमा अल्भारो गार्सियाले पालाजोनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६१ औं मिनेटमा रायो भालेकानोका प्रशिक्षक एन्डोनी रातो कार्ड खाँदै टचलाईन छाड्न बाध्य भए ।
त्यसपछि ६६ औं मिनेटमा रायोले पेनाल्टी पाएपनि ओस्कार ट्रेजोले पेनाल्टी प्रहा गर्नुअघि नै गोलकिपर कोर्टुवाले लाइन क्रस गर्दै गरेपछि पुर्ण पेनाल्टीमा गोल गर्दै रायोलाई ३–२ ले अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले हार बेहोरेको हो ।
यो रियलको यस सिजन लिगमा पहिलो हार हो ।
हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा दोस्रो स्थानमा रहेको छ । रियलको १३ खेलबाट ३२ अंक छ, शीर्षस्थानमा रहेको बार्सिलोनाको ३४ अंक छ भने रायो भालेकानो २१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।