रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।
रोसालेडा मालगामा बिहीबार राति भएको खेलमा बिल्वाओले खेलको १८औं मिनेटमा राहुल गार्सियाको गोलबाट अग्रता लिएको थियो । उनले ड्यानी गार्सियाको पासमा गोल गरेका थिए ।
३८औं मिनेटमा लुुकास भाज्क्वेजले पेनाल्टी बक्समा इनिगो मार्टिनेजलाई लडाएपछि प्राप्त पेनाल्टीमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।
७३औं मिनेटमा करिम बेन्जेमाले एक गोल फर्काउदै रियललाई खेलमा फर्कन संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल फाइनल पुग्न असमर्थ बन्यो ।
अब बिल्वाओले उपाधिका लागि सोमबार राति क्याटलान क्लब बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।