रियल म्याड्रिडविरुद्ध हारे पछि बार्सिलोनाका प्रशिक्षकले गरे भिएआरको गुनासो (भिडियो सहित)

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले एल क्लासिकोमा हार बेहोरेपछि भिडियो असिस्टेन्ट रेफ्री बार्सिलोनाको विरुद्धमा निर्णय लिन मात्र प्रयोग गरिने आरोप लगाएका छन् ।

शनिबार भएको एल क्लासिकोमा रियल म्याड्रिडविरुद्ध ३-१ को हार बेहोर्दा खेलमा भीएआर नै टर्निङ प्वाइन्ट बन्यो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा रेफ्रीले भीएआरको सहायता लिएर दिएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरेपछि रियल अग्रता लिन सफल रहेको थियो । बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङलेटले रामोसको जर्सी तानेपछि रेफ्रीले भीएआरको सहायतामा पेनाल्टी दिएका थिए ।

यता बार्सिलोनाको भने दुई पटक पेनाल्टी पाउने सम्भावना भीएआरले नकारेको थियो । राफेल भारानले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाउँदा र भारानकै हातमा बलले लाग्दा रेफ्रीले भीएआरमार्फत निर्णय रियलको पक्षमा दिए । कोम्यानले खेलपछि बोल्दै भीएआरले निर्णय दिंदा बार्सिलोनाको विरुद्ध मात्र लिएको आरोप लगाए ।

कोम्यानले हार पछि यसो भने (भिडियो):

‘म भीएआर बुझ्न सक्दिन । मलाई लाग्छ यो बार्सिलोना विरुद्ध निर्णय लिन मात्र प्रयोग गरिन्छ । पेनाल्टी क्षेत्रभित्र जर्सी तान्नु सामान्य नै हो । तर त्यसबेला रामोसले पहिला फल गरेको भने देखिएन । रामोसले लडेको तरिका हेर्दा पनि मेरो लागि त्यो पेनाल्टी होइन ।’

‘हामीले हालसम्म ५ खेल खेल्यौं र हरेक पटक निर्णय हाम्रो विरुद्ध नै गएको छ । हाम्रो तर्फमा निर्णय भइरहेको छैन । उक्त निर्णयले नतिजामा पनि असर गर्यो । हामी पेनाल्टी नहुँदासम्म राम्रो खेलिरहेका थियौं,’ कोम्यानले भने ।

यता कप्तान रामोसले भने पेनाल्टी दिने निर्णय सहि रहेको अभिव्यक्ति दिए । ‘ त्यो क्लियर पेनाल्टी नै थियो । म बलको लागि उफ्रन खोज्दा मलाई तानिएको थियो । यसो पक्का पेनाल्टी निर्णयमा पनि रेफ्रीको आलोचना गर्न्नु ठिक होइन,’ रामोसले भने ।