रियल म्याड्रिडले भित्र्यायो ब्राजिलियन खेलाडी

रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा खेलाडी रेनीअर जेससलाई अनुबन्ध गर्ने भएको छ । रेनीअर जनवरी १९ को दिन १८ वर्ष पूरा भएपछि औपचारिक अनुबन्धन हुनेछ ।

रियलले रेनीअर १८ वर्ष पुगेपछि मात्र औपचारिक रुपमा अनुबन्धन गर्न प्रस्ताव अगाडि सारेको हो । दुवै क्लब र खेलाडीबीच अनुबन्धनलाई लिएर मौखित सम्झौता भैसकेको छ । फिफाले १८ वर्ष मुनिका खेलाडी अनुबन्धनमा कडाइ गरेपछि रियलले केहि दिन प्रतीक्षा गर्ने भएको हो ।

रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए । तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो ।

रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ । उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन् । यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए । कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन् ।