रियल म्याड्रिडले काभानी भित्र्याउने

उरुगुवेन फर्वाड इडिन्सन काभानी अहिले क्लबविहिन छन् । अब उनलाई भित्राउन विषयमा स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडमा चर्चा सुरु भएको छ ।

च्याम्पियन्स लिगको बाँकी खेलमा अनुपस्थित रहेका काभानीले पछिल्लो मेमा फ्री ट्रान्सफरमा पिएसजी छाडेका थिए । पिएसजीमै रहँदा पनि उनी विभिन्न क्लबमा जाने विषयमा चर्चा भएपनि त्यसले मुर्तरुप भने लिएको थिएन । ला लिगाको नयाँ सिजनमा रियलले आइतबार रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि काभानीको विषयले प्रवेश पाएको छ ।

काभानी दोस्रो रोजाइको फरवार्डका रुपमा अनुबन्धित हुने हुँदा उनले माग गरेको पारिश्रमिकमा रियल सहमति जनाउनेमा भने शंका रहेको छ । उनलाई बार्षिक ७ मिलयन युरो पारिश्रमिक दिनुपर्ने हुनसक्छ । यद्दपी ट्रान्सफर रकम तिर्न नपर्ने भएकाले रियलले उनलाई भित्राउने विषयलाई गम्भिरतापूर्वक लिने सम्भावना पनि छ ।

पिएसजी छाडेपछि युभेन्ट्स, रोमान, ग्रिमियो, बेनफिका र एट्लेटिको म्याड्रिडले उनीसँग सम्झौता गर्ने विषयमा काभानीका प्रतिनिधि रहेको भाई फर्नान्डोसँग छलफल चलाएको थियो । अहिले भने काभानी स्वदेश उरुग्वेमा स्व-अभ्यासमा व्यस्त छन् ।

पिएसजीमा झन्डै सात वर्ष बस्दा ७ पटक लिग वान जितेका काभानीले १९ वटा उपाधि जितेका थिए । पिएसजीले अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेपछि काभानीले सम्झौता नविकरण नगर्ने निर्णय लिएका थिए ।