रियल म्याड्रिडको भ्यालेन्सिया माथी जित

रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै शीर्षस्थानसँग दुरी घटाएको छ । घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले पहिलो गोल उपहार पायो । भ्यालेन्सियाका ड्यानीएल वासले आठौं मिनेटमा आत्मघाती गोल गरेपछि रियल अगाडी बढेको थियो ।

रियलले खेलमा पकड जमाएपनि दोस्रो गोल थप्न निकै संघर्ष गर्नुपर्यो । खेलको ७ मिनेट समय बाँकी हुँदा रियलले लुकास भाज्केज्को गोलमा अग्रता दोब्बर पार्यो । एसेन्सियोले फिनिस गर्न नसकेको बललाई बेन्जेमाले भाज्केजलाई पास दिएपछि उनले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए ।

रियल १४ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । शीर्ष स्थानमा सेभिल्लाले १३ खेलमा २६ अंक जोडेको छ ।