रियल म्याड्रिडको आर्सनल माथि जित

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले दोस्रो खेलमा जित निकालेको छ । आज बिहान अमेरिकामा भएको दोस्रो खेलमा रियलले इंग्लिस टोली आर्सनललाई पेनाल्टी सुट आउटमा ३–२ ले हराएको हो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै पक्षबाट २–२ को बराबरी भएको थियो । तर, पेनाल्टीमा आर्सनलले ३ पेनाल्टी गुमाएपछि रियलले अन्तिम पेनाल्टीअघि नै जित हात पारेको हो ।

जसमा रियलका लागि सुरुआती पेनाल्टी ग्यारेथ बेलले हानेकोमा उनको प्रहार आर्सनलका गोलरक्षकले रोकेका थिए । त्यसपछि रियलका लागि इस्को, राफाएल भाराने र भिनिसियस जुनियरले गोल गर्न सफल भए । तर, आर्सनलका लागि ग्रानिट शाका, नाचो मोनरेल र रोबी बुर्टाेनले पेनाल्टी मिस गरे । आर्सनलका लागि रेइसिस नेल्सन र बुकाया शाकाले मात्रै गोल गरे ।

त्यसअघि निर्धारित समयमा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । रियलका डिफेन्डर नाचो खेलको नवौं मिनेटमै रातो रातो कार्ड पाएर मैदान छाडेका थिए भने आर्सनलका सोक्राटिस ४०औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेपछि दुवै खेलाडी पहिलो हाफमा १०–१० खेलाडीमा सीमित भएका थिए ।

पहिलो हाफमा आर्सनलले २–० को सहज अग्रता बनाएको थियो । उसका लागि १०औं मिनेटमा एलेक्सान्ड्रे लाकाजेटले पेनाल्टीबाट गोल गरेका थिए । नाचोले ह्यान्ड बल गरेपछि पाएको पेनाल्टीमा उनले गोल गरेका थिए । पेनाल्टी क्षेत्रमा नाचोले बल रोक्न हात प्रयोग गरेपछि नाचोले सोझै रातो कार्ड पाएका थिए ।

त्यसपछि खेलको २४औं मिनेटमा आर्सनलले दोस्रो गोल हान्यो । सो खेल अउबामेयाङले गरेका थिए । उनकै गोलको मदतमा रियललाई आर्सनलले २–० ले पछि पारेको थियो ।
तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो । दोस्रो हाफमा प्रशिक्षक जिनेदिन जिदानले साबिक पहिलो रोजाइको टिम उतारेका थिए । जसमा अघिल्लो खेलमा टोलीमै नपरेका वेल्स स्टार ग्यारेथ बेलले यस खेलमा स्थान बनाउँदै महत्त्वपूर्ण प्रदर्शन गरे ।

बेलले खेलको ५६औं मिनेटमा बक्स भित्रबाट गोल गरेर खेल २–१ बनाएका थिए । त्यसको ३ मिनेटमै मार्को एसेन्सियोले बक्स बाहिरबाट दर्शनीय गोल गरेर खेल २–२ बनाए । तर, त्यसको केहीबेरमै एसेन्सियो चोटग्रस्त हुँदै मैदान छाडेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो ।

आजको खेलमा बेलले पेनाल्टी गुमाए पनि त्यसबाहेक उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले टिमलाई हारबाट जोगाउन १ गोल गर्नुका साथै आफ्नो पोस्टमा १ गोल हुनबाट बचाएका थिए ।