रियल म्याड्रिडका जापानीज मेस्सी मालोर्काबाट खेल्ने

रियल म्याड्रिडका जापानी मिडफिल्डर ताकेफुसा कुबोले यस सिजन लोनमा रियल मालोर्काबाट खेल्ने भएका छन् ।

यसै सिजन शीर्ष डिभिजनमा चढेको मालोर्काले कुबोलाई लोनमा ल्याउने प्रस्ताव राखेको थियो । रियलले आफ्नो पहिलो टोलीमा उनलाई नराख्ने भएपछि शीर्ष श्रेणीको अनुभव बटुल्न मालोर्का पठाएको हो ।

रियल भालाडोलिडले पनि कुबोलाई अनुबन्ध गर्ने इच्छा व्यक्त गरेको थियो, तर मालोर्काले खेल समय दिने सम्भावना बढी देखेपछि म्याड्रिडले उनलाई त्यसतर्फ पठाएको हो ।

रियलले दोस्रो डिभिजनमा खेल्ने कास्टिला टोलीबाट खेलाउनुभन्दा मालोर्कामा खेल्दा उनले शीर्ष लिगको अनुभव बटुल्ने आशा गरको छ । कुबो यसै सिजनको सुरुवातमा रियल आएका हुन् । यसअघि पनि मालोर्काबाट जापानी खेलाडी योशितो ओकुबो र अकिहितो इएनागाले खेलिसकेका छन् ।