रियल म्याड्रिडका जापनिज स्टारले ४ खेलाडीलाई नट-मेग गर्दै गोल गरे पछि

हाल सामाजिक संजालमा रियल म्याड्रिडका युवा जापनिज स्टार टाकेफुसा कुबोको एक भिडियो भाइरल हुँदै गएको छ।

जापान यु-२३ र जमैका बिच भएको मैत्रीपूर्ण फुटबल खेलमा टाकेफुसा कुबोले ३२ औँ मिनेटमा गोल गर्दै ब्लु समुराईलाई अग्रता दिलाए र उनको उक्त गोल निकै उत्कृष्ट रहेको थियो। कुबोको उक्त गोल जमैकाका ४ खेलाडीलाई नट-मेग हुँदै भएको थियो।

थ्रोबाट आएको बललाई कुबोले राइट विङ्गबाट डि-बक्समा लगेर बल प्रहार गरे र उक्त प्रयास ४ खेलाडीलाई नट-मेग हुँदै गोल हुन पुगेको थियो। जापानले उक्त खेलमा ४-०को जित हासिल गरेको थियो भने हाल सामाजिक संजालमा रियल म्याड्रिडका युवा जापनिज स्टारको उक्त गोल धेरै भाइरल हुँदै गएको छ।

टाकेफुसा कुबो हाल एसियाका एक प्रख्यात युवा प्रतिभा मध्ये एक हुन्। २० वर्षका जापनिज स्टार रियल म्याड्रिडका खेलाडी हुन् तर हाल उनी लोनमा गेटाफेमा रहेका छन्।