रियल मड्रिड सिंगै क्लबको भन्दा बढी मेस्सी र स्वारेजको गोल

ला लिगा फुटबलमा यो सिजन बार्सिलोनाका कप्तान लिओनल मेस्सी र अर्का फरवार्ड लुइस स्वारेज गोल गर्ने मामिलामा दुवै अगाडि छन् । मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् भने स्वारेज दोस्रो स्थानमा छ ।

पछिल्लोपटक ला लिगामा लेभान्टेविरुद्धको खेलमा यी दुवै खेलाडीले गोल गरेका थिए । लेभान्टेविरुद्ध मेस्सीले ह्याट्रिक गर्दा स्वारेजले पनि १ गोल गरेका थिए ।

बार्सिलोनामा गोल गर्ने मामिलामा मेस्सी र स्वारेजको जोडी निकै जमेको देखिन्छ । यतिसम्म कि, यी दुई खेलाडीले मिलेर अर्को क्लब रियल मड्रिड सिँगै क्लबको भन्दा बढी गोल गरेका छन् ।

अर्थात्, यो सिजन मेस्सी र स्वारेजले गरेको गोल संख्या जोड्दै यो सिजन रियलका सबै खेलाडीले गरेको गोलभन्दा बढी हुन आउँछ । १६ खेल सकिँदा मेस्सी र स्वारेजले हालसम्म लिगमा २५ गोल गरेका छन् । जसमा मेस्सीले १४ गोल गरेका छन् भने स्वारेजले ११ गोल गरेका छन् ।

तर, रियल मड्रिडले भने जारी सिजनका १६ खेल सकिँदा मात्रै २४ गोल गरेको छ । यसरी हेर्दा मेस्सी र स्वारेजको गोल संख्या रियल मड्रिड सिँगै क्लबले गरेको भन्दा १ गोलले बढी हो ।
यो सिजन बार्सिलोनाले विपक्षीको पोस्टमा कूल ४६ गोल गरिसकेको छ । आफूले १९ गोल खाएको छ ।

यता, रियलले भने विपक्षीको पोस्टमा जम्मा २४ गोल गर्दा आफूले भने १९ गोल खाइसकेको छ । रियलका लागि लिगमा हालसम्म सर्वाधिक धेरै गोल करिम बेन्जिमाले ६ गोल र ग्यारेथ बेलले मात्रै ४ गोल गरेका छन् ।

लिगमा बार्सिलोना अहिले १६ खेलपछि ३४ अंकसहित शीर्ष स्थानमा छ भन रियल समान खेलबाट २९ अंकसहित चौथो स्थानमा छ ।