रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको दोस्रो लेगको खेलमा रियल पाहुना टोली बार्यनसँग २–२ को बराबरीमा रोकिए पनि समग्र गोलमा अघि रहँदै फाइनल पुग्यो । अघिल्लो लेग २–१ ले जितेको रियलले एग्रीगेटमा ४–३ को जितसहित फाइनलमा स्थान पक्का गरेको हो ।

रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जिमा नायक बने । यो सिजन रियलमा खराब अवस्थाबाट गुज्रिरहेका उनले यस खेलमा व्यक्तिगत २ गोल गरे । उनकै गोलको मदतमा रियलले बराबरी नतिजा सम्भव बनायो ।

रियलको घरमा अग्रता भने पाहुना टोली बार्यनले लिएको थियो । उसले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेर खेलमा फर्किने संकेत गरेको थियो । उसका लागि पहिलो गोल जोसुवा किममिचले गरेका थिए ।

तर, खेलको १०औं मिनेटमा रियलका लागि बेन्जिमाले हेडिङ गोल गर्दै खेल बराबरी बनाए । पछि परेको स्थिति उल्ट्याउँदै रियलले पहिलो हाफमा १–१ को स्थिति बनायो ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ ४५औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरे । बार्यनका डिफेन्डर र गोलरक्षकले गरेको गल्ती बार्यनका लागि महँगो साबित भयो । डिफेन्डरले ब्याक पास दिएको बल बार्यनका गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा अगाडि रहेका बेन्जिमाले सहजै बललाई जाली चुमाए ।

त्यसपछि पनि बार्यनले खेलमा फर्किन संघर्ष जारी राख्यो । उसले खेलको ६२औं मिनेटमा गोल गर्दै खेलमा फर्किने स्पष्ट संकेत दिएको थियो । उसका लागि गत समरमा रियल छाडेर लोनमा बार्यन गएका कोलम्बियन स्टार हामेज रोड्रिग्वेजले गोल गरेका थिए । उनकै गोलबाट बार्यनले खेल २–२ को बराबरी बनायो ।

तर, बाँकी समयमा दुवै टिमबाट कुनै गोल भएन । र, २–२ को बराबरीमा रोकिए पनि रियल अघिल्लो लगेको नतिजाको मदतमा समग्रमा ४–३ ले अघि रहँदै फाइनल पुग्न सफल भयो ।

निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटमा बार्यनले गोल गर्ने सुनौलो अवसर पाएको थियो । तर, उसका खेलाडी थोमस मुलर चुकेपछि बार्यनले फाइनलको बाटो रियललाई सुम्पियो ।

यस खेलमा रियलका स्टार क्रिस्टिायनो रोनाल्डो भने गोलविहीन बने । उनले पछिल्ला दुई खेलमा गोल गर्न सकेनन् । तथापि, रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले कूल १४ गोल गरिसकेका छन् ।

गत वर्ष प्रतियोगिताको अन्तिम आठमा रियल र बार्यन भिडेका थिए । जहाँ रियलले बार्यनलाई समग्रमा ६–३ ले हराउँदै उपाधि होडबाट बिदा गरेको थियो । बार्यन यसपटक पनि रियलसँग अभागी साबित भयो । ऊ लगातार दोस्रोपटक रियलको हातबाट पराजय भोग्दै उपाधिबाट हात धुन बाध्य भयो ।

यससँगै रियल लगातार तीनपटक च्याम्पियन्स लिगको फाइनल पुग्ने एक मात्रै टिम बनेको छ । हालसम्म कुनै पनि टिम लगातार तीन सिजन फाइनल पुगेका छैनन् ।

रियल च्याम्पियन्स लिगको कीर्तिमानी १२औं पटकको उपाधि विजेता टोली हो । उसले पछिल्ला दुई सिजन लगातारसहित समग्रमा १२ पटक यो उपाधि जितेको छ ।