रियल मड्रिडले गुमायो शीर्ष स्थानको बार्सिलोनासंग बराबर गर्ने मौका

स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा थुप्रै गोलको अवसर खेर फाल्दा रियलले अंक बाड्नु परेको हो । रियल करिम बेन्जिमा एक्लैले गोल गर्ने सात अवसर खेर फालेका थिए ।

यस्तै बिल्बाओका केनान कोड्रोको गोल अफसाइड भएको थियो ।

बिल्बाओको यो लगातार तेस्रो खेलमा बराबरी हो । सन् २००६ को मार्चपछि पहिलो पटक रियलले तीन खेलमा बराबरी खेल्नु परेको हो । यस अघि रियल भ्यालेन्सियासँग १-१ र बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ । बार्सिलोनाको ३९ अंक रहेको छ । २८ अंक जोडेको बिल्बाओ सातौं स्थानमा रहेको छ ।