रियल मड्रिडलाई पछि पार्दै सोसिइडाड शीर्ष स्थानमा

रियल सोसिडाड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा एसडी हुएस्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा मिकेल ओयार्जाबलले ३५ औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

खेलको ४६ औं मिनेटमा राफा मिरले गोल गर्दै हुएस्कालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५४ औं मिनेटमा मिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दा सोसिडाड ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा एलेक्सजेन्डर इसाकले गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए ।

जितसँगै सोसिडाडले ७ खेलमा १४ अंक जोडेको छ । रियल मड्रिडलाई १ अंकले पछि पार्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।

हुएस्का ७ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।